कैलालीको गेटा अस्पतालमा ओपिडी सेवा सञ्चालन

काठमाडौँ । कैलालीको गेटा अस्पतालमा आजदेखि सेवा संचालनमा आएको छ । चाहिने जति जनशक्ति र उपकरण नभए पनि उपलब्ध भएकैबाट अस्पतालले सामान्य सेवा सुरू गर्न लागेको हो। अस्पतालले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि विभिन्न ८ वटा सेवा प्रदान गर्ने जनाएको थियो । अस्पतालले जनरल ओपीडी, हाडजोर्नी तथा नशारोग ओपिडी, स्त्रीरोग सेवा, जनरल सर्जरी ओपीडी, अल्ट्रासाउण्ड सेवा, एक्स(रे सेवा, प्रयोगशाला सेवा र फार्मेसी सेवा उपलब्ध हुने जनाएको छ ।
यसैगगरी, अस्पतालले कात्तिक महिनाभित्र एमसीएच क्लिनिक, मंसिरभित्र खोप सेवा विस्तार, पुसभित्र इमरजेन्सी सेवा, चैत्रभित्र शल्यक्रिया सेवा र आगामी वैशाखभित्र आइसीयू र एनआइसीयू सेवा विस्तार गर्ने निर्देशक डा प्रमोद जोशीले जानकारी दिए ।
सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम दिएको छ । एक सय शय्या चलाउने निर्णय र बजेटमा उल्लेख भए पनि जनशक्ति र उपकरण भने त्यसका लागि चाहिने जति छैन । अहिले २६ जना जनशक्ति गेटा अस्पतालमा हाजिर भएका छन् । न्यूनतम सेवा सञ्चालनका लागि मेडिकल सामान पनि आइपुगेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले २०७८ चैत १४ गते ३ सय शय्या रहने गरी आवश्यक प्रबन्ध मिलाई तत्काल अस्पताल सञ्चालन गर्ने निर्णय भएको थियो । २०७९ जेठ ३१ गते गेटामा मेडिकल कलेज तथा अस्पताल निर्माण गर्ने निर्णय भएबमोजिम २०८० असोज १२ गते र असोज १६ गते गरी १ सय ४१ जना स्वास्थ्यकर्मीको अस्थायी दरबन्दी संरचना स्वीकृत गरेको थियो ।