कामपाद्वारा प्रधानाध्यापक र स्रोत शिक्षकका लागि दरखास्त आह्वान

काठमाडौँ । काठमाडौं महानगरपालिकाले प्रधानाध्यापक र स्रोत शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाका अनुसार पाँच वर्षका लागि करारमा प्रधानाध्यापक छनोट गर्नुपर्ने भएकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि, २०८० बमोजिम दरखास्त आह्वान गरिएको हो ।महानगरले विभिन्न तह गरी ७१ जना प्रधानाध्यापक र ११ स्रोत शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।
महानगरले आधारभूत तह (१–५) का लागि ६ जना, आधारभूत तह (१–८) का लागि २२ जना र माध्यमिक तहका लागि ४३ जना प्रधानाध्यापकका लागि दरखास्त आह्वान गरेको छ । विद्यालय समायोजन वा थपघट भएमा संख्या थपघट हुनसक्ने उल्लेख गरेको छ । मंसिर १ गतेसम्म इच्छुक उम्मेद्वारले दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि सम्बन्धित तहमा कम्तीमा ५ वर्ष स्थायी सेवा अवधि भएको हुनुपर्नेछ ।
माध्यामिक तहका लागि दुई हजार, आधारभूत (१–८) तहको लागि एक हजार ५०० र आधारभूत तह (१–५) का लागि एक हजार परीक्षा शुल्क र महानगरपालिकामा राजश्व बुझाएको भौचर संलग्न हुनुपर्ने जनाएको छ । महानगरले विद्यालय विकास प्रस्ताव तयारी र प्रस्तुतीकरणको आधारमा प्रधानाध्यापक छनोट गर्ने जनाएको छ ।
यसैगरी, काठमाडौं महानगरपालिकाले ११ जना स्रोत शिक्षकको लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले अंग्रेजी विषयको लागि २ जना, नेपाली विषयको लागि २ जना, गणित विषयको लागि ३ जना, सामाजिक विषयको लागि २ जना र विज्ञान विषयको लागि २ जना स्रोत शिक्षकको लागि दरखास्त आह्वान गरेको छ । महानगरपालिकाले स्रोत शिक्षकको लागि १ मंसिरसम्म इच्छुक उम्मेदवारले दरखास्त दिनसक्नेछन् । स्रोत शिक्षकको लागि लिखित, प्रयोगात्मक र अन्र्तवार्ता लिनेछ भने परीक्षा शुल्क २ हजार लाग्नेछ । १८ मंसिरमा परीक्षा सञ्चालन गर्ने महानगरले जनाएको छ ।