वार्ताको ढोका खुला छ : माओवादी
काठमाडौं , २३ असार । संविधानसभा निर्वाचन बहिस्कारको निर्णय गरेको नेकपा-माओवादीले वार्ताको ढोका पनि खुला राख्ने भएको छ ।पार्टी कार्यालय बुद्धनगरमा आइतबार बसेको पोलिटब्यूरोको बैठकले बहिस्कारको नीतिमा कायम रहँदै वार्ताको प्रक्रिया पनि खुला राख्ने निर्णय गरेको हो ।नेकपा–माओवादीले सरकार परिवर्तन लगायतका विषयमा ४ दलीय समिति लचिलो भएमात्रै बार्तामा बस्ने निर्णय गरेको छ ।
काठमाडौमा आइतबार बसेको पोलिटब्युरो बैठकले वार्ता गर्न सरकार परिवर्तन, ११ बुँदे र २५ बुँदे सहमतिका बिषयमा राजनीतिक समिति लचिलो हुनुपर्ने निर्णय गरेको हो ।बैठकको औपचारिक जानकारी भने सोमबार मात्रै सार्वजनिक गरिने माओवादीले जनाएको छ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चार दलको पछिल्लो निर्णय सकारात्मक भएपनि मुख्य मुद्दालाई सम्बोधन नगरी सामान्य कुरामा मात्रै निर्णय गरिएकोले त्यसको खासै अर्थ नभएको टिप्पणी गरे ।सरकार परिवर्तन, ११ बुँदे र २५ बुँदेका बारेमा छलफल हुनुपर्छ भन्ने आफ्ना माग रहेकोमा चार दलले त्यसमा कुनै छलफल नगर्ने भन्दै सामान्य कुरामा मात्रै प्रतिक्रिया दिएको बैद्यको भनाई छ ।नेकपा माओवादी चुनावमा आउन तयार भए सर्वपक्षीय राजनीतिक सम्मेनल गर्ने, समानुपातिक सिट संख्या बढाउने मूख्य चार दलले निर्णय गरेका थिए ।
