सरकारद्वारा ३३ दलीय मोर्चालाई वार्तामा आउन पुन आहृवान
काठमाडौं, २४ साउन । सरकारले नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई वार्तामा आउन आहृवान गर्दै पुन पत्र पठाएको छ ।३३ दलीय मोर्चाले सरकारले आफूहरुको अस्तित्व स्वीकार नगरेको भन्दै असन्तुष्टी जनाएपछि सरकारले फेरि माओवादी को माग अनुसारको भाषा राखेर पत्र पठाएको हो । सरकारले यसअघि पठाएको पत्रमा ३३ दलीय मोर्चा भनेर चर्चामा आएको भनि उल्लेख गरिएको थियो ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मोर्चालाई पत्र पठाउने निर्णय गरेको हो । ‘मुलुकका समस्या वार्ता, सम्वाद र छलफलबाट समाधान हुने नेपाल सरकार विश्वस्त रहेकाले नेकपा माओवादी र सो पार्टी सम्वद्ध ३३ दलीय मोर्चालाई वार्ताका लागि पुनः आमन्त्रण गरिएको छ’ बैठकपछि पठाइएको पत्रमा भनिएको छ-’वार्ताको स्थान, मिति र समय दुबै पक्षको सहमतिबाट निर्धारण हुन सक्नेछ ।’ पत्रमा सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री माधवप्रसाद घिमिरेको हस्ताक्षर रहेको छ ।
यसैबीच नेकपा-माओवादीले सरकारले निःशर्त वार्तामा बोलाएकोमा सकारात्मक भनेको छ । माओवादीले प्रेस नोट जारी गरेर आन्दोलनरत मोर्चासँग छलफल गरेर निर्णय गरिने बताएको छ ।
