दलाल पुंजीवादी व्यवस्था असफलसिद्ध
 
                
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य सन्तोष सी (विषम)ले संसदीय दलाल पुजीवादी व्यवस्था असफल सिद्ध भएको ठोकुवा गरेका छन् । मंगलबार लमहीको सिदार्थ होटलको सभाहलमा आयोजित प्रथम लुम्बिनी प्रदेश स्तरीय राजनीतिक-वैचारिक प्रशिक्षण एबम् अभियान उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् । नेता विषमले भने – ‘ नेपालमा विधमान संसदीय दलाल पुजीवादी व्यवस्था असफल सिद्ध भइसकेको छ । हामिले पहिल्यै भनेका थियौं कि यो व्यवस्थाले नेपाली जनता र राष्ट्रको प्रतिनिधित्व गर्न सक्दैन । यो व्यवस्था पटकपटक असफल सिद्ध भइसकेको छ । एकपटक विप्लवलाई हेरौं भन्ने जनताको चाहना छ, यहीँ व्यवस्थामा फस्नलाई होइन कि यो व्यवस्था भत्काएर समाजवादी व्यवस्थामा जानका लागि हामीले केन्द्रीय समितिको बैठकबाट नयाँ निर्णय सहित आएका छौँ ।’
नेता विषम सीले ०८४ को निर्वाचनलाई संघर्षको मोर्चा बनाएर प्रयोग गर्ने निर्णय गरेको बताउदै भने- ‘ नेकपाले ०८४ को निर्वाचन प्रयोग गर्ने भनेपछी राजनीतिक वृत तरंगित भइरहेको छ । पुरानो नेतृत्वबाट धोका खाएको हुनाले अहिलेको नेतृत्वले दाँयाबाया गर्दा शरीर जिरिङ्ग हुने कुरा स्वभाविक हो तर आशंकालाई मुख्य बनाउनु हुँदैन । नेतृत्वले ल्याएको चिजलाई सकारात्मक कोणबाट हेर्नुपर्दछ । नकारात्मक कोणबाट मात्रै हेर्दा निराशा , कुण्ठा र आक्रोश पैदा हुन्छ । ढुक्क हुनुहोस्, पार्टी नेतृत्वले धोका दिदैन । हामी समाजवादका लागि फराकिलो मोर्चा निर्माण गर्न चाहेका छौँ । अमेरिकी साम्राज्यवाद हामीसंग लड्न सिधै आइपुगेको छ तसर्थ साम्राज्यवादसंग लड्न हामीले पनि सोहि अनुरुपको बाटो तय गर्नुपर्ने हुन्छ ।’
नेता विषम सीले नयाँ नयाँ रुपका संसोधनवाद देखेको उल्लेख गर्दै भने– ‘यतिबेला बाङ्गोटिंगो बाटो हिड्नुपर्ने भएको छ । हामीले पार्टीले तय गरेको नयाँ बाटोमा उडान भरेका छौँ । हामी सहि ठाउँमा छौँ , गलत ठाउमा छैनौं । क्रान्तिको निम्ति कसैले औला ठड्याउने ठाउँ छैन । ढलिसकेको क्रान्तिलाई यहाँसम्म ल्याएका छौँ । विश्वमा ढलेका क्रान्ती उठेका छैनन्, नेपालमा हामीले उठाएका छौँ । प्रचण्डप्रति अगाध विश्वास थियो, किरणलाई पनि विश्वास गर्यौ । उहाँहरुकै नेतृत्वमा कम्युनिस्ट पार्टी पुनर्गठन गर्ने प्रयत्न गर्यौ तर सफल हुन नसकेपछि हामीले नयाँ विचार, दृष्टिकोण र लक्ष्यसहित अगाडि बढ्यौं ।विप्लवको नेतृत्वमा नयाँ विचारको विकास गरेका छौँ । एकीकृत जनक्रान्तिको विचार विकास गरेर आएका छौँ । दर्शन, राजनीति र अर्थशास्त्रमा नयाँ विकास गरेर सफल हुँदै आएका छौ।’
नेता विषम सीले सामन्तवाद रुप फेरेर दलाल पुजीवादमा बदलिएको बताउदै भने- ‘देशको राजनीति दलाल पुजीवादको कब्जामा छ । समृद्धिको बाधक दलाल पुजीवाद बनेको छ । दलाल पुजीवादको विकल्प नेपाली बिशेषताको समाजवाद हो । नेपालमा अमेरिकी साम्राज्यवाद आँफै लड्न आएको छ । अहिले नेपाली जनताको मुख्य दुश्मन अमेरिकी साम्राज्यवाद हो । दुश्मन बदलियो भने मित्र शक्ति बदलिन्छ । अहिले हामिले चार मित्र शक्ति , चार मित्र वर्ग र ६ मित्र समुदायको अवधारणा सहित जनताको एकीकृत बलद्वारा दलाल पुजीवादलाई परास्त गर्नेगरी योजना बनाएका छौँ ।’
नेता विषम सीले माओवादी धाराका बिचमा एकता गर्ने पार्टीको प्रस्ताव भएको बताउदै भने – ‘ संसदवादका लागि एकता गर्ने भनेका होइनौं एकता क्रान्तीका लागि हुनुपर्छ । कम्युनिस्ट जनमत सुरक्षीत गर्नका लागि कम्युनिस्टहरुको बृहत् एकताका लागि पनि पहल गर्नुपर्छ । नेपालबाट कम्युनिस्ट जनमतलाई निस्तेज पार्ने अमेरिकी षड्यन्त्रलाई सफल हुन दिनुहुँदैन । हामीले प्रचण्डको डिफेन्स गरेका होइनौं, जनयुद्धको डिफेन्स गरेका हौं । साम्राज्यवादले जनयुद्धलाई अपराधिकरण गर्न प्रचण्डलाई अपराधी करार गर्न खोजेपछि डिफेन्स गरेका हौं, त्यो हामी सधै गर्छौं ।’
नेता विषम सीले जनयुद्ध सिनेमाको पहिलो सिन भएको र एकीकृत जनक्रान्ति सिनेमाको पछिल्लो सिन भएको बताए ।

यसैगरी, नेता विषम सीले मंगलबार आयोजना गरिएको राजनीतिक-वैचारिक प्रशिक्षण कार्यक्रममा नेकपा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका इन्चार्ज सेक्रेटरीहरुलाई पार्टीको झण्डा हस्तान्तरण गर्दै पार्टीको ६ महिने आवधिक योजना अन्तर्गतको ‘पार्टी संगठन सुदृढ एवम जनसम्बन्ध विस्तार अभियान’को समेत उद्घाटन गरे । उक्त ६ महिने अभियानलाई ३/३ महिनामा विभाजन गरिएको पार्टीले जनाएको छ ।

 
                 
                             
                             
                         
                         
                        