‘शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा देश पराधीन हुन पुग्यो’

२०८२ बैशाख १४ गते, आईतवार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा देश पराधीन हुन पुगेको ठोकुवा गरेका छन् । राष्ट्रिय सम्प्रभुता आन्दोलनद्वारा आयोजित “विदेशी सेनामा नेपाली नागरिकको गैरकानुनी भर्ती: राष्ट्रिय सम्प्रभुताप्रतिको हाँक र ऐतिहासिक क्षतिको क्षतिपूर्ति” बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले नेपालको सार्वभौमिकता कस्तो छ भन्ने कुरा पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट प्रस्ट भएको बताउदै शासकले कुर्सीसँग सार्वभौमिकता साट्दा नेपाल सुगौली सन्धिदेखि एमसीसी सम्झौतासम्म पराधीन हुन पुगेको ठोकुवा गरे । उनले भने- ‘हाम्रो स्वाधीनता कस्तो छ भन्ने कुरा शेरबहादुर देउवाको थाइल्यान्ड भ्रमणबाट छर्लङ्ग भएको छ । केही समय पहिले केपी ओली सिंगापुर भ्रमणबाट उठेको थियो । बाबुराम भट्टराईजी अहिले भारत भ्रमणमा हुनुहुन्छ । त्यहाँ पनि यही प्रश्न उठ्ला’, उनले भने, ‘अहिलेको अवस्था थाइल्यान्ड कुरेर बसिराख्नु परेको छ । शासकको मनस्थिति कस्तो छ ? मिडिया कस्तो छ ? देउवाको भ्रमणबाट आँखीझ्याल देखिन्छ ।’
महासचिव विप्लव सीले अहिले राजनीतिमा केपी सरकार ढल्छ कि ढल्दैन भन्नेमा बहस भइरहेको भन्दै आफूले एक पटक सत्तामा बसेर सेवा गर्न चाहेको समेत बताए ।
उक्त कार्यक्रमा राष्ट्रिय सम्प्रभुता आन्दोलनका सभापति पदमबहादुर गुरुङले अवधारणा पत्र प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रमको वक्ताहरुमा कृष्ण शर्मा (प्रवक्ता, नेसपा),श्यामल (लेखक/वरिष्ठ पत्रकार), भरत दहाल(विष्लेषक), कृष्ण मुरारी भण्डारी(वरिष्ठ पत्रकार) नवराज सुविदी(साउदी अरबका पुर्व राजदुत) रहेका थिए।

प्रतिक्रियाहरु

[anycomment]