नासाद्वारा ‘आर्टिमिस २’ चन्द्र मिशन स्थगित

२०८२ फाल्गुन १० गते, आईतवार


काठमाडौँ । नासाले ‘आर्टिमिस २’ चन्द्र मिशन स्थगित गरेको छ । नासाका प्रशासक जारेड आइज्याकम्यानले प्राविधिक समस्याका कारण आगामी मार्चमा हुने भनिएको ‘आर्टिमिस २’ चन्द्र मिशन तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका हुन् । ५० वर्षभन्दा बढी समयपछि मानवसहित चन्द्रमाको परिक्रमा गर्ने यो पहिलो मिशन थियो ।
फेब्रुअरी २१ मा रकेटको माथिल्लो हिस्सामा हिलियम ग्यासको प्रवाहमा अवरोध देखिएको थियो। रकेटको इन्धन ट्याङ्कीमा चाप सन्तुलन मिलाउन र इन्जिन सफा गर्न हिलियम ग्यास अनिवार्य मानिन्छ । ३२२ फिट अग्लो एसएलएस रकेट र ओरियन स्पेसक्राफ्टलाई अब लन्च प्याडबाट फिर्ता लगेर ‘भेहिकल एसेम्बली बिल्डिङ’ मा राखिनेछ। प्याडमा राखेर मर्मत गर्न असम्भव भएकाले रकेटलाई ह्याङ्गरमा फर्काउन लागिएको हो ।
यसअघि मार्च ६ का लागि तय गरिएको प्रक्षेपण अब रद्द भएको छ। अब अप्रिल १ देखि ६ को बीचमा नयाँ मिति तय हुन सक्ने सम्भावना रहेको छ । प्रशासक आइज्याकम्यानले यो ढिलाइले टोलीमा निराशा छाए पनि सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको बताएका छन् । यस १० दिने ऐतिहासिक यात्रामा तीन अमेरिकी रिड वाइजम्यान, भिक्टर ग्लोभर, र क्रिस्टिना कोच तथा एक क्यानेडियन यात्री जेरेमी ह्यान्सेन सहभागी हुनेछन् । अमेरिकाले चीनसँगको अन्तरिक्ष प्रतिस्पर्धाका बीच सन् २०३० अगावै पुनः मानवलाई चन्द्रमाको सतहमा उतार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु