वर्गीय मुक्ति मुक्ति विना महिला मुक्ति असम्भव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीकी स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सीले वर्गीय मुक्ति बिना महिलाहरूको मुक्ति सम्भव नरहेको बताएकी छिन् । अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डकी प्रदेशको प्रथम पूर्ण बैठकलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् ।
नेता शिलु सीले आजको वर्ग विभाजित समाजमा महिलाको मुक्ति नभएसम्म वर्गीय मुक्ति असम्भव रहेको ठोकुवा गर्दै भनिन्- ‘कानुनमा बराबरीले केहि हुँदैन जिवनमा बराबरी हुनुपर्दछ । त्यसैले महिलाहरू जतिछिटो संगठन र आन्दोलनमा सहभागि भएर सशक्त रुपमा एकीकृत जनक्रान्तिमा लामबद्ध हुँदैनन् तबसम्म त्यो कल्पनाभन्दा बाहिर हुन्छ ।’
नेता शिलु सीले नेकपाले अघि सारेको एकिकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी सत्ता निर्माणको लक्ष्य जबसम्म प्राप्त हुँदैन तबसम्म केही नहुने बताउदै महिलाहरूको जिवनमा बराबर अधिकार समाजवादमा मात्र सम्भव रहेको जिकिर गरिन् ।
अखिल नेपाल महिला संघ क्रान्तिकारी गण्डकी प्रदेशकी संयोजक गोमा सीको अध्यक्षतामा सम्पन्न उक्त बैठकले संगठनलाई सशक्त पार्दै पार्टीको नीतिलाई प्रभावकारी कार्यन्वयन गर्न विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ।
उक्त बैठकले गरेका दूरगामी निर्णयहरु यस प्रकार रहेका छन –
१. समाजवाद र महिला विषयक अन्तरक्रिया गर्ने
२. एक महिने संगठन विस्तार अभियान सञ्चालन गर्ने
३. महिला उत्पीडन, चेलिबेटी बेचविखन, बलात्कार, दाईजो लगायत महिला हिंसाका साथै सहकारी, लघुवित्त, मिटरब्याजी ठगी विरुद्ध जन संघर्ष गर्ने
४. संगठनलाई आत्मनिर्भर बनाउन सबै जिल्लाले उत्पादनमा जोड दिने ।
बैठकमा नेकपा पोलिट ब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज आस्था सी, नेकपा केन्द्रीय सदस्य खसी, शुसिला सी, अ.ने.म.संघ क्रान्तिकारीकी केन्द्रीय उपाध्यक्ष भृकुटी सी, अ.ने.म.संघ क्रान्तिकारी केन्द्रीय सचिव उषा सी लगायत महिला नेताहरूको उपस्थिति रहेको थियो ।