सप्तकोशी उच्च बाँध निर्माणको काम तत्काल रोक्न माग

काठमाडौँ । सप्तकोशी उच्च बाँध विरुद्ध संघर्ष समिति (माथिल्लो तटिय डुवान क्षेत्र)ले भारतले विवादास्पद सप्तकोशी उच्च बाँध निर्माण प्रकृया अघि बढाएको भन्दै बाँध निर्माणको काम तत्काल रोक्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन । संघर्ष समितिले सप्तकोशी उच्च बाँध निर्माण आयोजना खारेजीको माग गर्दै बिहिबार धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो ।
संघर्ष समितिले प्रस्तावित बाँध निर्माणले स्थानीय समुदाय बाध्यात्मक विस्थापनमा पर्ने र अस्थित्व माथिनै खतरा उत्पन्न हुने भन्दै प्रमुख जिल्ला अधिकारीमार्फत् सरकारको ध्यानाकर्षण गराएको हो । संघर्ष समितिले परियोजना स्थल वरिपरिका प्रभावितहरूको बासस्थान, खेती र आजिविका नै मासिने चिन्ता गरेका छन । किराँतहरूको आस्थाको केन्द्र खुवालुङ डुवानमा पर्ने भएकाले परियोजना बन्द गर्नुपर्ने माग राखेका छन ।
असिम राई नेतृत्वमा सप्तकोशी उच्च बाँध परियोजनाको प्रभाव मूल्याङ्कन प्रभावकारी हुनु पर्ने, प्रभावित समुदायको पूर्व स्वीकृती अनिवार्य हुनुपर्ने, वैकल्पिक, दिगो, स्थानीय र जनअनुकुल विकासका विकल्पहरू अघि सारिनु पर्ने माग राखेको छ ।
संघर्ष समितिका अध्यक्ष असिम राईले सप्तकोशी उच्च बाँधका कारण लाखौं नागरिक बाध्यात्मक विस्थापनमा पर्ने भन्दै उक्त परियोजनाले नेपाल र नेपाली हित नगर्ने बताए ।
प्रस्तावित सप्तकोशी उच्च बाँध स्थल धनकुटा, भोजपुर, सुनसरी र उदयपुर जिल्लाको सीमावर्ती कोशी गल्छीमा पर्छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भारत भ्रमणका बेला २०४८ सालमा धनकुटा, भोजपुर, सुनसरी र उदयपुरको सीमावर्ती कोशी गल्छीमा बाँध हाल्न अध्ययन गर्ने सहमति भएको बताइन्छ ।
त्यसयता विवाद र चर्चामा रहेको सप्तकोशी उच्च बाँध निर्माण हुन नहुने भन्दै स्थानीयले बिरोध गर्दै आएका छन । सप्तकोशी नदीको पानीबाट तीन हजार मेगावाट बिजुली निकाल्ने, आसपासमा सिंचाइका लागि ठूला परियोजना संचालन गर्ने तथा भारतसागको जलमार्ग निर्माण गर्ने लगायतका महत्वकाक्षी योजना छन ।