सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन
काठमाडौँ । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ। मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा सोमबार बसेको सचिवहरूको बैठकले देशभर लागू भएको दुईदिने साप्ताहिक बिदा व्यवस्थापछि सार्वजनिक बिदाको संख्या र औचित्य पुनरावलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो ।
बैठकले सार्वजनिक बिदासम्बन्धी व्यवस्थाको अध्ययन तथा पुनरावलोकनका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिअनुसार कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधिहरू सदस्य रहनेछन्।
गठित कार्यदललाई हाल कायम रहेका सार्वजनिक बिदाहरूको अध्ययन गरी आवश्यक सुझावसहित १५ दिनभित्र प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइएको छ। उक्त प्रतिवेदन गृह मन्त्रालयमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा लागू गरेपछि सेवा प्रवाह, सरकारी कार्यसम्पादन तथा प्रशासनिक प्रभावकारितामा परेको असरलाई मूल्याङ्कन गर्दै वर्षभरि दिइने अन्य सार्वजनिक बिदालाई व्यवस्थित र आवश्यकताअनुसार परिमार्जन गर्ने उद्देश्यले कार्यदल गठन गरिएको जनाएको छ।
