देवानगञ्ज घटनाका मृतकका परिवारद्वारा शव बुझ्न अस्वीकार
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग औपचारिक सहमति भइसकेपछि पनि सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका दुई युवाको शव परिवारहरूले बुझ्न अस्वीकार गरेका छन् । आफन्तले दबाबमा आफूहरूलाई सहमतिपत्रमा हस्ताक्षर गराएको र सहमति कार्यान्वयनको सुनिश्चितता नभएकोले शव नबुझेको बताएका छन् । गृहमन्त्री सुधन गुरुङसँग भएको सहमतिमा शुक्रबार अपराह्न शव बुझ्ने र पोस्टमार्टम गरेर आजै दिउँसो २ बजे अन्त्येष्टि गरिने उल्लेख गरिएको छ ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझ्ने कुरामा केहि समस्या देखिएको बताउँदै प्रहरीले समन्वय गरेर मिलाउने प्रयास गरिरहेको जानकारी दिए ।
स्मरणीय छ , गत आइतबार राति देवानगञ्ज गाउँपालिका कप्तानगन्जमा दुई समुदायका बिचमा भएको विवादका क्रममा सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको सोही राति मृत्यु भएको थियो । यस्तै गोली लागेर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।
दुवै मृतकको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शव गृहमा राखिएको छ । सरकार र मृतक पक्षबिच बिहीबार राति सहमति भएपनि परिवारले शव नबुझ्ने अडान लिएपछि पोस्टमार्टम प्रक्रियासमेत हुन सकेको छैन ।
गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा देवानगञ्ज गाउँपालिकाको कार्यालयमा भएको छलफलपछि गृहमन्त्रीले नै हस्ताक्षर गरेको सहमतिपत्र तयार भएको थियो । सहमतिपत्र बोकेर गुरुङ आफै मृतक परिवारको घरमा पुगेर हस्ताक्षर गराएका थिए । बुधबारदेखि सुनसरीको अवस्था क्रमशः सामान्य बन्दै गएको छ । तर, कर्फ्यु अझै हटेको छैन ।
