अखिल नेपाल फुटबल संघको निर्वाचन स्थगित
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन स्थगित भएको छ। निर्धारित तालिकाअनुसार आज झापामा एन्फाको नियमित साधारणसभासहित निर्वाचन हुने कार्यक्रम रहेको थियो। तर एन्फाले बिहीबार साँझ आकस्मिक रूपमा सूचना जारी गर्दै निर्वाचन स्थगित गरेको जनाएको छ।
सरकारको निर्देशनलाई बेवास्ता गर्दै एन्फाले निर्वाचन कार्यक्रम अगाडि बढाउने निर्णय गरेको थियो। नेपाली खेलकुद सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपले तहगत निर्वाचन सम्पन्न नभएको कारण पटक पटक स्थगित गर्न भनेको थियो। तर, पंकजविक्रम नेम्वाङको नेतृत्वमा रहेको एन्फाले त्यसलाई अटेर गर्दै निर्वाचन अघि बढाउने निर्णय गरेपछि नेपाली फुटबलको सर्वोच्च निकायमाथि ३ महिना निलम्बन गर्ने कठोर कदम चालेको थियो।
जिल्ला, प्रदेशका निर्वाचन नगरी सोझै केन्द्रको निर्वाचनमा जाने प्रयासलाई राखेपले स्वीकारेको थिएन। राखेपले बारम्बार यसबारे पत्राचार गर्दा एन्फाले आलटाल गरेर जबरजस्ती निर्वाचन गर्न खोज्दा यो परिणाम आएको निर्वाचनको विरोधमा रहेका एन्फाका पदाधिकारीहरूले बताए।
एन्फाको विधानअनुसार एउटा पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने प्रावधान छ। तर तहगत निर्वाचन नहुँदा जिल्ला अध्यक्षमा दुई कार्यकालभन्दा बढी बिताएकाहरू पनि यस ुअर्ली इलेक्सनु सहभागी भइरहेका थिए। त्यसलाई राखेप र एन्फाकै एउटा समूहले स्वीकारेको थिएन।
एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पाले बिहीबार दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनमा भाग लिएर इतिहासमा कलंकित हुने काम नगर्न क्लब प्रतिनिधिहरूलाई आग्रह गरेका थिए। राखेपले एन्फालाई निलम्बन गरेपछि साधारणसभा र निर्वाचनका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्न सहिद स्मारक लिगका ए, बी र सी डिभिजनका क्लबहरू, जिल्ला संघ र सरोकारवालाहरूले पत्रकार सम्मेलनमा जुटेका थिए।
उनीहरूले झापामा हुने तय भएको निर्वाचनमा आफूहरू सहभागी नहुने बताएका थिए।
