‘क्यान’ लाई कारबाही गर्न निर्देशन

२०८३ बैशाख २७ गते, आईतवार

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल क्रिकेट संघ (क्यान) लाई कारबाही गर्ने तयारी थालेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको उजुरीउपर छानबिन गर्न सहयोग नगरेको भन्दै मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई पत्र लेख्दै क्यानमाथि कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको हो । मन्त्रालयका अनुसार क्यानले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २८ बमोजिम मन्त्रालय र परिषद्लाई बुझाउनुपर्ने लेखा र श्रेस्ता सम्बन्धी कागजातहरू उपलब्ध गराउन इन्कार गर्दै आएको छ। अख्तियारले २०८१ मङ्सिर र फागुनमा पटक(पटक पत्राचार गर्दा पनि क्यानले विवरण नबुझाएपछि फाइल अनिर्णित अवस्थामा रहेको मन्त्रालयको ठहर छ।
मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै क्यानलाई ‘अन्तिम पटक चेतावनी’ सहितको स्पष्टीकरण सोध्न निर्देशन दिएको छ। ऐनको दफा २९ बमोजिम क्यानलाई किन कारबाही नगर्ने र किन निलम्बन नगर्ने भनी जवाफ माग गरिएको छ ।
यदि क्यानले मागिएका कागजात र चित्तबुझ्दो जवाफ नदिएमा मन्त्रालयले संघलाई निलम्बन गर्ने सम्मको कडा कदम चाल्ने पत्रमा उल्लेख छ। यस विषयमा आवश्यक कारबाही अगाडि बढाउन मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशनात्मक आदेश दिएको छ।

प्रतिक्रियाहरु

[anycomment]