रोनाल्डो विश्वकै सबैभन्दा धेरै कमाउने खेलाडी
काठमाडौँ । क्रिष्टियानो रोनाल्डो विश्वकै सबैभन्दा बढी कमाउने खेलाडी भएका छन् । उनले फोब्र्सको विश्वकै सबैभन्दा बढी कमाउने खेलाडीहरूको वार्षिक सूचीमा पुनः शीर्ष स्थान कब्जा गरेका छन् । रोनाल्डोले लगातार चौथो वर्ष र समग्रमा छैटौँ पटक यो सूचीको पहिलो स्थान हासिल गरेका हुन् । फोब्र्सका अनुसार रोनाल्डोले गत वर्ष कर र एजेन्ट कमिसन अघि करिब ३० करोड अमेरिकी डलर कमाएका छन् । यस कमाइमा अल–नासरसँगको सम्झौताबाट प्राप्त भएको २३ करोड ५० लाख डलरको ठुलो हिस्सा सामेल छ भने बाँकी ६ करोड ५० लाख डलर विज्ञापन, प्रायोजन, लाइसेन्स सम्झौता र व्यावसायिक व्यवसायहरूबाट आर्जन भएको हो । यो कुल कमाइले यसअघि सन् २०१५ मा फ्लोयड मेवेदर जुनियरले कायम गरेको सर्वकालीन कीर्तिमानसँग बराबरी गरेको छ । यसका साथै रोनाल्डोले फोब्र्सको धनी खेलाडीहरूको सूचीमा छैटौँ पटक शीर्ष स्थानमा रहँदै माइकल जोर्डनको कीर्तिमानसँग पनि बराबरी गरेका छन् । अब उनीभन्दा अगाडि ११ पटक शीर्ष स्थानमा रहेका टाइगर वुड्स मात्र छन् ।
रिङभित्र यो वर्ष उतारचढावपूर्ण नतिजा व्यहोरे पनि मेक्सिकन बक्सर कानेलो अल्भारेज सूचीको दोस्रो स्थानमा पर्न सफल भएका छन् । अनडिस्प्युटेड सुपर मिडलवेट उपाधि भिडन्तमा टेरेन्स क्रोफोर्डसँग ठूलो हार बेहोरे पनि अल्भारेजले १७ करोड डलर कमाएको रिपोर्टमा उल्लेख छ । यसैगरी लियोनेल मेस्सी इन्टर मियामी सीएफसँगको व्यावसायिक रूपमा सफल सिजनपछि १४ करोड डलर कमाउँदै तेस्रो स्थानमा रहेका छन् । यो सूचीमा लस एन्जलसका खेल आइकनहरूको पनि वर्चस्व देखिएको छ । लस एन्जलस लेकर्सका लेब्रोन जेम्स एनबीए पारिश्रमिक, विज्ञापन र विभिन्न व्यवसायिक साझेदारीको मद्दतले १३ करोड ७८ लाख डलर कमाउँदै चौथो स्थानमा अटाएका छन् । उनको ठीक पछि लस एन्जलस डजर्सका शोहे ओतानी १२ करोड ७६ लाख डलर कमाइका साथ पाँचौँ स्थानमा छन् ।
फोब्र्सका अनुसार विश्वका शीर्ष ५० सबैभन्दा बढी कमाउने खेलाडीहरूको संयुक्त कमाइमा ठुलो वृद्धि भएको छ । सन् २०१८ मा २ अर्ब ६० करोड डलर रहेको उनीहरूको कुल कमाइ बढेर अहिले ४ अर्ब २० करोड डलर पुगेको छ ।
यसैबीच, विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडीको सूचीमा रोनाल्डो समेत परेको बताइएको छ । विश्वकप फुटबलको ९६ वर्षको इतिहासमा अहिलेसम्म ४० वर्ष वा त्यसभन्दा बढी उमेरका केवल सात खेलाडीले मात्र मैदानमा खेल्ने अवसर पाएका छन् । फिफा विश्वकप फुटबलमा २०२६ मा उक्त सूचीमा कम्तीमा पाँच खेलाडी थपिने सम्भावना छ । अहिलेसम्म आयोजित विश्वकपमा सहभागी सबैभन्दा पाका खेलाडी इजिप्टका एसाम एल हदारी हुन् । सन् २०१८ को विश्वकपमा आफ्नो नाममा कीर्तिमान रच्दा उनी ४५ वर्ष १६१ दिनका थिए । समूह चरणमा साउदी अरबविरुद्धको खेलमा मैदान प्रवेश गर्दै गोलरक्षक हदारीले त्यसअघिको रेकर्डलाई दुई वर्षभन्दा बढीले भङ्ग गरेका थिए । उक्त खेलमा इजिप्ट साउदी अरबसँग २–१ ले पराजित भएको थियो ।
शीर्ष स्थानमा रहेका पाका खेलाडी सबै जना ३९.५ वर्षभन्दा बढी उमेरका छन् । एसाम एल हदारी, फारिद मोन्द्रागोन, रोजर मिला र प्याट जेनिङ्स मात्रै ४१ वर्षको उमेर कटिसकेपछि पनि कम्तीमा एक पटक विश्वकपमा सहभागी भएका खेलाडी हुन् । यसपालि विश्वकपमा सहभागी टोलीमध्ये स्कटल्यान्डका गोलरक्षक क्रेग गोर्डन सबैभन्दा पाका खेलाडी हुन् । उनी ४३ वर्षका भए । स्कटल्यान्ड २८ वर्षपछि विश्वकपमा छनोट भएको हो । गोर्डनले यसपालि खेल्ने अवसर पाए भने उनी विश्वकप इतिहासकै दोस्रो पाका खेलाडी बन्नेछन् ।
पोर्चुगलका ४१ वर्षे कप्तान क्रिष्टियानो रोनाल्डोले यसपालि छैटौँ पटक विश्वकप खेल्न लागेका छन् । अर्जेन्टिनाका लियोनेल मेसी र रोनाल्डो दुवैले छ वटा विश्वकप खेलेर नयाँ कीर्तिमान बनाउनेछन् । रोनाल्डो उमेरका आधारमा पनि ज्येष्ठ खेलाडीको सूचीमा पर्नेछन् ।
यसैगरी, जापानका ३९ वर्षीय डिफेन्डर युतो नागातोमो पनि यो प्रतियोगिताका पाका खेलाडीमध्ये एक हुनेछन् । बोस्निया–हर्जगोभिनाका ष्ट्राइकर एडिन जेको, जर्मनीका गोलरक्षक मानुएल नोयर र क्रोएसियाका मिडफिल्डर लुका मोड्रिच तीनै जना ४० वर्ष नाघिसकेका छन् । उनीहरूले यसपालि विश्वकपमा खेल्ने निश्चित मानिएको छ ।
पहिलो पटक विश्वकपमा सहभागी हुन लागेको केप भर्डका गोलरक्षक भोजिन्या प्रतियोगिता आरम्भ हुनुअघि ४० वर्ष पुग्नेछन् । प्रतियोगितामा खेल्ने अवसर पाए उनी पनि पाका खेलाडीको सूचीमा समेटिनेछन् ।
विश्वकप खेलेका १० पाका खेलाडी यस प्रकार रहेका छन् –
एसाम एल हदारी (इजिप्ट)– ४५ वर्ष
फारिद मोन्द्रागोन (कोलम्बिया)– ४३ वर्ष
रोजर मिला (क्यामरुन)– ४२ वर्ष
प्याट जेनिङ्स (नर्दन आयरल्यान्ड)– ४१ वर्ष
पिटर शिल्टन (इङ्गल्यान्ड)– ४० वर्ष
डिनो जोफ (इटाली)– ४० वर्ष
अली बुम्निलेज (ट्युनिसिया)– ४० वर्ष
जिम लेटन (स्कटल्यान्ड) – ३९ वर्ष
डेभिड जेम्स (इङ्गल्यान्ड) – ३९ वर्ष
एतिबा हचिन्सन (क्यानडा) – ३९ वर्ष
विश्व फुटबलका महान् खेलाडी क्रिष्टियानो रोनाल्डोका लागि सन् २०२२ डिसेम्बर १० का दिन निकै पीडादायी थियो । एकतर्फ अफ्रिकी राष्ट्र मोरक्कोका खेलाडीहरू जितको खुसी मनाइरहेका थिए । सो जितको उन्माद यसरी फैलिएको थियो कि कतारको मेट्रोमा राती तीन बजेसम्म मोरक्कन समर्थकहरू खुसीयाली साटासाट गरिरहेका देखिन्थे । अर्कोतर्फ विश्व फुटबलका महान् खेलाडीमध्येका एक क्रिष्टियानो रोनाल्डो रंगशालाबाट बाहिरिँदै गर्दा निकै भावुक बनेका थिए र उनका आँखाबाट आँसु झरिरहेका थिए । मैदानबाट बाहिरिने टनेलमा उनी एक्लै रोइरहेको दृश्यले विश्वभरका उनका फ्यानको मन कुँडिएको थियो ।
२०२२ को विश्वकप रोनाल्डोका लागि अन्तिम विश्वकप ठानिएको थियो । त्यसैले अन्तिम विश्वकपमा उपाधि जित्ने उनको लक्ष्यमा पूर्णविराम लागेको अनुमान गरिएको थियो । पोर्चुगल अल थुमामा रंगशालामा मोरक्कोसँग १–० गोलले पराजित हुँदै क्वाटरफाइनलबाट बाहिरिएको थियो । तर, खेल जीवन सोचेजस्तो कहाँ हुन्छ र ? सन् २०२२ मा अन्तिम विश्वकप खेलेको ठानिएका रोनाल्डोका लागि फेरि अर्को अवसर आएको छ । अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि सुरु हुने २०२६ को विश्वकपमा रोनाल्डो फेरि मैदान उत्रिँदैछन् । समूह ‘के’ मा पोर्चुगलले कंगो, उज्वेकिस्तान र कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।
४१ वर्षको उमेरमा आफ्नो छैटौँ विश्वकप खेल्न लागेका रोनाल्डोले क्लब करिअरमा लगभग सबै रेकर्ड बनाइसकेका छन् । रोनाल्डोका लागि फुटबल खेल मात्र नभई रेकर्डहरूको एउटा साम्राज्य नै हो भन्नु अतिशयोक्ति नहोला । उमेरले चालीस काटेपछि उनी आफ्नो करिअरको सबैभन्दा कठिन र महत्त्वपूर्ण गन्तव्यतर्फ अगाडि बढिरहेका छन् ।
रोनाल्डोको विश्वकप यात्रा सन् २००६ मा जर्मनीबाट सुरु भएको थियो । २१ वर्षको उमेरमा पोर्चुगललाई सेमिफाइनलसम्म पु¥याउन उनले मुख्य भूमिका खेले, जहाँ पोर्चुगल चौथो भएको थियो । त्यसपछिका २०१०, २०१४ र २०१८ का विश्वकप रोनाल्डो र पोर्चुगलका लागि सोचेजस्तो सुखद रहेनन् ।
सन् २०२२ को कतार विश्वकप रोनाल्डोको जीवनको सबैभन्दा भावुक मोड बन्यो । मोरक्कोसँग पराजित भएर बाहिरिँदा टनेलमा खसेका रोनाल्डोका आँसुले संसारलाई स्तब्ध बनाएको थियो । धेरैले सोचेका थिए, रोनाल्डोको विश्वकप यात्रा त्यहीँ सकियो । तर, उनी अझै रोकिएका छैनन् । ती आँसुलाई अब २०२६ का लागि ऊर्जा र प्रतिवद्धतामा बदल्ने सोचमा रोनाल्डो रहेका छन् ।
विश्वकपमा संघर्ष गरे पनि रोनाल्डोले पोर्चुगललाई ऐतिहासिक सफलताहरू दिलाइसकेका छन् । सन् २०१६ को युरो कपको फाइनलमा घाइते भएर मैदान बाहिर बस्नु परे पनि उनको कप्तानीमा पोर्चुगलले फ्रान्सलाई हराउँदै पहिलो ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्यो । त्यसपछि २०१९ मा उनले पोर्चुगललाई ‘यूईएफए नेसन्स लिग’ को च्याम्पियन बनाए ।
पोर्चुगलको सानो टापु मडेराबाट उनको यात्रा सुरु भएको थियो, जहाँ एउटा दुब्लो र फुटबलप्रति पागल बालकको सपना हुर्किएको थियो । गरिव परिवारमा जन्मिएका रोनाल्डोका बुबा नगरपालिकाका माली थिए भने आमा भान्छामा काम गर्थिन् । आर्थिक अवस्था कमजोर भए पनि उनको सपना भने असाध्यै ठूलो थियो । सानैदेखि उनी बलसँगै सुत्थे र बलसँगै उठ्थे । १२ वर्षको उमेरमा मडेरा छाडेर लिस्बन पुगेका उनले स्पोर्टिङ लिस्बनको एकेडेमीमा भर्ना हुने मौका पाए । लिस्बनबाट सुरु भएको उनको करिअर २००३ मा इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड पुगेपछि विश्वव्यापी बन्यो । प्रशिक्षक एलेक्स फर्गुसनले उनलाई निखारे, जसका कारण ड्रिब्लिङ, स्पिड र फिनिसिङमा उनी उत्कृष्ट बन्दै गए ।
क्लब फुटबलमा रोनाल्डोको दबदबा अतुलनीय छ । स्पोर्टिङ सीपीबाट यात्रा सुरु गरेका उनले म्यानचेष्टर युनाइटेडमा पहिलो ‘बालोन डी’ओर’ जिते । रियल म्याड्रिड पुगेपछि उनले ४ वटा युरोपियन च्याम्पियन्स लिग जितेर आपूmलाई ‘गोल मेसिन’ सावित गरे । युभेन्ट्समा पनि उनको सिरी ‘ए’ यात्रा सफल रह्यो । ५ पटकका बालोन डी’ओर र ४ पटकका युरोपियन गोल्डेन शू विजेता रोनाल्डो अहिले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल (१४३ गोल) र सबैभन्दा धेरै खेल (२२६ खेल) खेलेका छन् । यति धेरै गोल र खेलको कीर्तिमान निकट भविष्यमा अन्य खेलाडीका लागि तोड्न सहज छैन । उनले ५ वटा फरक–फरक विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि राखेका छन् । रोनाल्डोलाई ‘युरोपियन च्याम्पियन्स लिगको राजा’ समेत भनिन्छ, जहाँ उनले १८३ खेलमा १४० गोल गर्दै ५ पटक उपाधि जितेका छन् । धेरैले रोनाल्डो साउदी अरबको ‘अल–नासर’ क्लबमा जाँदा उनको स्तर खस्कने ठानेका थिए । तर, उनले त्यहाँ पनि आफ्नो लय कायम राखे । साउदी प्रो लिगको प्रतिस्पर्धा र त्यहाँको भौतिक तयारीले उनलाई २०२६ को विश्वकपका लागि शारीरिक रूपमा फिट राख्न मद्दत गरिरहेको छ ।
रोनाल्डो २०२६ को चुनौतीपूर्ण यात्राका लागि साउदी लिगलाई आफ्नो प्रशिक्षण मैदानका रूपमा प्रयोग गरिरहेका छन् । उनको करिअरमा एउटै मात्र उपाधि बाँकी छ । समकालीन प्रतिस्पर्धी लियोनेल मेसीले सन् २०२२ मा विश्वकप जितेपछि रोनाल्डोका लागि २०२६ को विश्वकप प्रतिष्ठाको विषय बनेको छ । उमेरले चार दशक पार गरे पनि उनी अझै थाकेका छैनन् र अहिले मुख्य तीन वटा लक्ष्यमा दृढ देखिएका छन् ।
पहिलो लक्ष्यः व्यावसायिक फुटबलमा १००० गोल पु¥याउने पहिलो खेलाडी बन्ने । अहिले उनी यो आँकडाको निकै नजिक छन् । उनको कूल गोल संख्या ९७३ पुगिसकेको छ ।
दोस्रो लक्ष्यः आफ्नो छोरा ‘क्रिष्टियानो जुनियर’ सँग व्यावसायिक म्याच खेल्ने । यो सपना पूरा गर्न उनले २०२६ सम्म खेल्नु अनिवार्य छ । यसै वर्षको अन्त्यसम्ममा साउदी क्लब अल नासरले क्रिष्टियानो जुनियरलाई सिनियर टोलीमा राख्ने सम्भावना छ । जुनियर रोनाल्डो पोर्चुगलको उमेर समूहको टोलीमा परिसकेका छन् र अल नासरको एकेडेमीका उत्कृष्ट प्रतिभा मानिन्छन् ।
तेस्रो लक्ष्यः विश्वकपको उपाधि जित्नु । यो लक्ष्य पूरा गर्न २०२६ को विश्वकप नै उनको अन्तिम अवसर हुन सक्छ । रोनाल्डोका लागि १००० गोल र छोरासँग फुटबल खेल्ने लक्ष्य नजिक देखिन्छन्, तर विश्वकपको उपाधि उनको एकल प्रयासमा मात्र निर्भर छैन । यसका लागि टोलीको प्रदर्शन र भाग्यको पनि साथ आवश्यक पर्नेछ ।
रोनाल्डोको २०२६ को यात्रा केवल एउटा खेलाडीको रहर मात्र होइन, यो त फुटबल इतिहासकै एउटा महागाथाको सुखद अन्त्य गर्ने प्रयास हो । ४१ वर्षको उमेरमा विश्वकप खेल्नु शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण छ । तर, रोनाल्डोको इतिहासले भन्छ– उनी चुनौतीहरूलाई रेकर्डमा बदल्न माहिर छन् ।
पोर्चुगलको जर्सी, १००० गोलको लक्ष्य र विश्वकपको त्यो सुनौलो ट्रफी– यी तीन कुराले रोनाल्डोलाई २०२६ को मैदानमा डो¥याउनेछन् । सन् २०२६ को विश्वकपमा उत्रिँदा यो केवल एउटा खेल हुने छैन, बरु आलोचकहरूलाई जवाफ र आफ्नो विरासतको अन्तिम छाप हुनेछ । के रोनाल्डोले विश्वकपको सुनौलो ट्रफी उचालेर सुखद बिदाइ पाउलान ? यो हेर्न पूरा विश्व व्यग्र प्रतीक्षामा छ ।
