निगमको वाई-१२ साउन दोस्रो साता आउने
काठमाडौँ, २५ असार ।नेपाल वायुसेवा निगमका लागि चीनबाट अनुदानमा ल्याउने अर्को जहाज वाई-१२ साउन दोस्रो साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ । निगमका महाप्रबन्धक मदन खरेलका अनुसार ‘उताबाट ७ गते उड्नेछ ।’ जहाजका लागि निगमका महाप्रबन्धकलगायत उच्च अधिकारीहरू गत असार १८ गते चीन गएका थिए । निर्माता कम्पनी एभिक इन्टरनेसनलले निगमलाई औपचारिक रूपमा असार २२ गते जहाज हस्तान्तरण गरेको हो ।जहाज अवतरण भएको १५ दिनपछि उडान गर्ने तालिका बनाइएको खरेलले बताए । ‘काठमाडौंलाई आधार बनाएर पश्चिमी क्षेत्रमा यो जहाजद्वारा सेवा दिइनेछ,’ उनले भने, ‘यसका लागि उडान सञ्चालन अनुमति (एओसी) पनि १५ दिनको अवधिमा आउनेछ ।’ यसअघि वाई-१२ आउने समय असार १६ गते भए पनि एओसीलगायत अन्य तयारीका लागि पछाडि सारिएको उनले बताए । उनका अनुसार तोकिएको समयमा नागरिक उड्डयन प्राधिकरणबाट सबै प्रमाणपत्र लिएर उडान थाल्न निगमका तर्फबाट सबै काम लगभग सकिएको छ ।
सरकारले निगमका लागि चीनसँग अनुदानमा एउटा एमए-६० र एउटा वाई-१२ तथा सहुलियत ऋणमा एउटा एमए-६० र तीन वाई-१२ जहाज लिने सम्झौता गरेको छ । सहुलियत ऋणको तीन वाई-१२ आएपछि भने निगमले दुर्गम पहाडी पर्यटकीय क्षेत्रमा आफ्नो सेवा विस्तार गर्नेछ । नयाँ जहाजद्वारा व्यवस्थापन पनि भरपर्दो सेवा दिएर गुमेको साख फिर्ता लिन कुनै कसर बाँकी नराख्ने निगमका निर्देशक रामहरि शर्मा दाबी गर्छन् । उनका अनुसार निगमलाई सफलतापूर्वक अगाडि बढाउन र भएका जहाजद्वारा बढी माइलेज लिन धेरै गृहकार्य गरिएको छ ।’ निगमले अनुदानमा पाएको एमए-६० र छिट्टै आउने एउटै वाई-१२ बाट पनि एक वर्षभित्र बजारको २० प्रतिशत हिस्सा आफ्नो बनाउने लक्ष्य राखेको छ ।