मन्त्रिपरिषदद्वारा कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने निर्णय

२०८२ चैत्र १३ गते, शुक्रबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
मन्त्रिपरिष् बैठकपछि सरकारका प्रवक्ता एवम् शिक्षामन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिएका हुन् ।
प्रवक्ता पोखरेलले जेनजी आन्दोलनको दमबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत ४ वटा निर्णय भएको जानकारी दिए ।
आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्रिपरिषद् राखेका थिए । उक्त बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसहितका निर्णय गरेको हो ।
यस्ता छन् बैठकका निर्णय :
–भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा यसअघि भएका विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात अज्ञात शहीदहरूप्रति सम्मान एवं श्रद्धाञ्जली व्यक्त गर्ने ।
–नेपाल सरकारको प्रवक्तामा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीलाई तोक्ने ।
–सरकारको शासकीय सुधारका सय कार्यसूची स्वीकृत गर्ने । (भोलिसम्म प्रकाशित गर्ने)
–भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको जाँचबुझ गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्न देहाय बमोजिम गर्ने ।
पहिलो, उल्लेखित आयोगले सिफारिस गरेको व्यक्ति र निकायमध्ये सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गरी सो समितिले पेश गरेको सिफारिस बमोजिम गर्ने ।
दोस्रो, अन्यको हकमा सो आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन गर्ने ।

प्रतिक्रियाहरु

[anycomment]