भारतीय एसएसबीले सुस्तामा निर्माणाधीन अस्थायी बाँध भत्कायो !
काठमाडौँ । भारतीय सशस्त्र सीमा बल(एसएसबी) नेपाली भूमिमा प्रवेश गरेर पश्चिम नवलपरासीस्थित सुस्तामा निर्माणाधीन अस्थायी बाँध भत्काएको छ । स्थानीयका अनुसार आज दिउसो साढे ३ बजेतिर करिब १५ जना सादा पोसाकमा र अरु हतियारसहित ६० जनाको संख्यामा एसएसबी नेपाली भूमि पसेर सुस्ता गाउँपालिका ५ थारु टोलमा बन्दै गरेका १३२ मिटर लामो माटोको कच्ची बाँध भत्काइदिएको हो । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ बनिरहेको बाँध भत्काएपछि स्थानीयबासी प्रतिवादमा उत्रिएका छन् ।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले भारतीय एसएसबी दुई देशको सीमा मानिएको सिमलको रुखभन्दा ३ सय मिटर नेपालतर्फ प्रवेश गरेर बाँध भत्काएको बताए । स्थानीयले रोक्ने प्रयास गरेपनि हतियारसहित आएकाले रोक्न नसकिएको तर, विवाद भएको उनले जानकारी दिए ।
यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरेर बाँध निर्माणको काम रोक्न दबाब दिएपछि रोकिएको थियो । सुस्ता नेपाल–भारतबीच लामो समयदेखि विवादित सीमा क्षेत्रका रूपमा रहँदै आएको छ ।
