देशका बिभिन्न स्थानमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। महाशाखाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहे पनि देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षासँगै हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ।
त्यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका धेरै स्थान र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा पनि मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्र, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका तराईका केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
महाशाखाले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
