नेपाल टेलिकमको खुद नाफा ४७.५८% ले वृद्धि

२०८३ श्रावण ३१ गते, आईतवार


काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा आफ्नो खुद मुनाफा ४७.५८ प्रतिशतले बढाएर ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ पुर्याएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत चौथो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद मुनाफा ६ अर्ब ६७ लाख रुपैयाँ थियो।
कम्पनीको खुद मुनाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँले बढेको हो।
नेपाल टेलिकमको कुल सञ्चालन आय पनि बढेको छ। आर्थिक वर्ष २०८२÷८३ को चौथो त्रैमासिकसम्म कम्पनीले ३४ अर्ब ९५ करोड ४ लाख रुपैयाँ कुल सञ्चालन आय गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३३ अर्ब ८९ करोड ४५ लाख रुपैयाँको तुलनामा १ अर्ब ५ करोड ५९ लाख रुपैयाँ अर्थात् ३.१२ प्रतिशत बढी हो।
त्यस्तै, कम्पनीको कुल आय ३९ अर्ब १९ करोड ९६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कुल आय ३८ अर्ब १८ करोड ८१ लाख रुपैयाँ थियो। यसअनुसार कुल आय १ अर्ब १ करोड १५ लाख रुपैयाँ अर्थात् २.६५ प्रतिशतले बढेको छ।
कम्पनीको करअघिको मुनाफा पनि उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो मुनाफा ९ अर्ब ८५ करोड २ लाख रुपैयाँ थियो।
यसअनुसार करअघिको मुनाफा ३ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ अर्थात् ३४.६६ प्रतिशतले वृद्धि भएको हो। त्यस्तै, कम्पनीको Earnings Before Interest, Taxes, Depreciation and Amortization (EBITDA) २० अर्ब ४८ करोड १ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिको १८ अर्ब ४९ करोड ६० लाख रुपैयाँको तुलनामा EBITDA १ अर्ब ९८ करोड ४१ लाख रुपैयाँ अर्थात् १०.७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ।
नेपाल टेलिकमका अनुसार ब्याजदर क्रमिक रूपमा घटेका कारण कम्पनीको ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। समीक्षा अवधिमा ब्याज आम्दानी करिब ८६ करोड १९ लाख रुपैयाँ अर्थात् २२.८८ प्रतिशतले घटेको कम्पनीले जनाएको छ।
यद्यपि, जीएसएम सेवातर्फको राजस्वमा वृद्धि भएकाले समग्र सञ्चालन आय बढाउन सहयोग पुगेको छ। जीएसएम सेवाबाट प्राप्त राजस्व अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४ करोड ५४ लाख रुपैयाँ अर्थात् २.२८ प्रतिशतले बढेको छ। कम्पनीले राष्ट्रको सञ्चार सेवाको जिम्मेवारी निर्वाह गर्दै बढी लागत र तुलनात्मक रूपमा कम प्रतिफल हुने विकट तथा दुर्गम क्षेत्रमा समेत सेवा विस्तार तथा गुणस्तर सुधारलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु