भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै
काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय स्थल सेनाका प्रमुख जनरल धीरज सेठ ५ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन्। भ्रमणका क्रममा भारतीय सेनाप्रमुख जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरिने कार्यक्रम रहेको बताइएको छ।
नेपाल र भारतबीच रहँदै आएको विशिष्ट सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा मित्रवत् सैन्य सम्बन्धको निरन्तरता स्वरूप एक-अर्का देशका सेनाप्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा छ। सन् १९५० देखि निरन्तर कायम रहेको यो अभ्यास दुई देशका सेनाबीचको आपसी विश्वास र अनुपम सम्बन्धको प्रतीकका रूपमा रहिआएको छ।
यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई गत २०८१ मंसिर २७ गते भारतको नयाँदिल्लीस्थित एक विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्यानी चिह्न प्रदान गरेकी थिइन्।
नेपाल बसाइका क्रममा भारतीय सेनाप्रमुख सेठले प्रधानमन्त्री वालेन्द्र शाह लगायतका उच्चपदस्थ व्यक्तित्वहरूसँग पनि शिष्टाचार भेटघाट गर्ने अपेक्षा गरिएको छ। यद्यपि, नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले भने भारतीय सेनाप्रमुखको नेपाल भ्रमणबारे आफूलाई औपचारिक जानकारी आइनसकेको बताएका छन्।
