मेरो कलमको उत्तेजना ।

अब त लेख्दिन भनेको थिएँ,
दाजुहरुले विरोध नलेख है भनेका थिए ।
म छाँगोबाट दहमा रुपान्तरित थेँ ।
मेरो कलम आगोबाट महमा रुपान्तरित हुन
संक्रान्तीत थियो ।
आँधीको राँगोबाट सतहमा तरलित थियो ।
तर खप्नै सकेन कलमले ।
अचानक जुठेल्नाहरु,
चोखिने क्रम दोहोरिएको देखेर,
चुठेल्नोमा दुध पोखिने क्रम सोहोरिएको देखेर,
मेरो कलम चुपचाप बस्नै सकेन ।
दाजु नरिसाउ ल, म एउटा कविता कोर्छु
कलम स्खलित हुन उत्तेजित भयो ।
–––––––
कुर्सी मातेर रोशनीलाई,
सबैले देख्नेगरी जबरजस्त दल्छ,
समाचारले हो भन्छ, संसारले हो भन्छ ।
अदालतले होइन भन्छ ।
नेताको जीप त्रिसुलीमा खस्छ,
राजपरिवारको शरीरमा सयौँ गोली पस्छ ।
योनीबाट रगत बगेका किशोरीहरुको लास,
उखुबारी र खोलघारीमा बास बस्छ ।
हत्यारा सधै फरार हुन्छ,
बलात्कारी पत्ता नै लाग्दैन
पौरुषत्व भएको मेरो कलम
नपुंसक भएर लुत्रुक्क भइरहँदैन
फँडा उठाएर उत्तेजित हुन्छ ।
कपीका कन्चनजङ्घाहरुमा
मसी नै मसी स्खलित हुन्छ ।
–––––––––
रातो मसीले मनपरी गर्दा
कालो र हरियो मसी पनि त मसी हो,
थुक निलेर ओठ चाटेर बस्न सक्दैन ।
रातो कलम यतिमा चढेर
जनताको भाग्यमा रातो मसीको छिर्का खसाउँछ ।
ओम्नीमा चढेर मधुमास मनाउँछ ।
ललिता निबासमा आमाको चोलि च्यात्छ ।
प्रिन्टिङ् मेसिनमा हालेर,
एक पटकको सत्तरी करोड बार्गेनिङ गर्छ ।
हुँदा हुँदा रातो मसी दुईतिहाईको
चिरहरण गरेर बिच सडकमा बिघटन गर्छ ।
चारतिरबाट हात खुट्टा समाएर
संसदलाई दुईदुईपटक बलात्कार गरिन्छ, गराइन्छ ।
अनि मेरो हार्मोनवाला कलम
आपूmभित्रको शक्ति छल्काएर
उत्तेजित हुन्छ र कालो मसी स्खलित हुन्छ ।
–––––––––
अहिले पिउँदिन भन्दै पिइरहेछन््,
गर्दिन भन्दै’ एमसीसी’पास गरेर
किस्ताबन्दीमा आमा बेचिरहेछन्् ।
एसपीपीमा पनि नाम फेरेर
ल्याप्चे थिचिरहेछन्् ।
नागरिकता पहिचान होइन,
नयाँ बुहारी र जुवाईलाई दिने
तिलक, दाइजो र मेजमान बनेको छ ।
भर्खर अपराधी मानेर जुठ्यानमा पुगेका रातो कलम
निर्दोष सावित भएर सिँहदरवार फर्केको छ ।
न एम अधिकारी नै भेटियो !
न त फुटेज भेटियो, नत फुटेज मेटियो ?
अब त सिँह हुँ भन्ने प्रतिपक्षी पनि
कात्तिकमा भुक्तै रमिता हेर्ने
डाँगो बन्न पुगेको छ,
सत्ता खुलेआम आगनमा रति गर्ने
राँगो बन्नपुगेको छ ।
मेरो कलम फेरि जुरुक्क उठेको छ,
किन कि यो नपुङ्सक होइन
लुत्रुक्क पर्न सक्दैन,
वरु मेरो कालो मसीको डिएनए परीक्षण गर र
बलात्कारी मुद्दामा जेल ठोक कलमलाई
तर चुपचाप तमास हेरेर मर्न सक्दैन ।