आलु प्याज
कहिले आलु प्याज
कहिले प्याज आलु
आलुप्याज जता नि मिल्छ
भारतीय टमाटरसँग मिल्ने
नेपाली टमाटरको के भाउ
जतासुकै जाऊ भारतबाट मगाऊ
नेपाल कति डिग्री अपराजित ?
नेपाल कति डिग्री कृषिप्रधान ?
ट्रकमा राता डाम लागेका राँगा
आयातित हामी कति पराजित ?
राता झिँगाको हमला राँगामा
त्यही ममः हुन्छ साँझमा
मानिसको स्वस्थ्य जाँच परै छ
अझ भैँसीको जाँच ?
छ यहाँ हनुमानको नाच
चटके जादूको नाच
आलु सस्तो कि प्याज
दुबै एउटै बारीको मूला ।
कहिले यो ठूलो कहिले ऊ ठूलो
झगडा हुन्छ आरोप प्रत्यारोप
तीन ठूलामा भागबण्डा
अनि खुल्छ गत्याबरोध
काले–काले मिलेर आउँ भाले
एउटै कराहीमा आलु प्याज मिल्छन्
दुबै भाइ–भाइ तर मुटु खाई
भान्से बडे दाइ । हाई हाई
छोटे भाइ पेट दुखाई
पद पाउन चाहिन्छ बडे भाइ ।
कपिलबस्तु र लुम्बिनी अखण्ड
कस्को के लाग्छ बडे भए उदण्ड ?
तर सबै हिसाब किताब छ
ग्रीन बुकमा ।
असुल हुन्छ एक दिन
समाजवादमा ।
छोटे भाइले गर्छ
आलु खाएर पेडको धाक
फिनी सकिएको थाहा छैन
गौंका गेडा गन्छु ।
चीलले चल्ला उडायो भन्दा
छट्टु स्यालले कुखुरा उडाएको ।
साँच्चै स्यालले आतंक मच्चाएको छ ।
एयरपोर्टको सुन समेत छक्काउँछ स्यालले ।
भीआइपीले हेर्छन् रमिता
लेनदेनमा मिल्न सीपालु नेता,
अब नेपाल जान्छ कता ?
अब अवस्था होइन फेर्नुपर्छ ब्यबस्था ।
फेर्नु पर्छ भालूनचाउने ब्यबस्था ।
पराईमा आश्रित ब्यबस्था,
धान खाने मुसा चोट पाउने भेगुता
माछो माछो जनतालाई भेगुता ?
जनतालाई आलू प्याज ?
सम्भ्रान्तलाई सुनको ताज ?