विश्वकप २०२६ को उद्घाटन  : मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काठमाडौँ ।  विश्वकप २०२६ सुरू भएको छ। गएराति मेक्सिको सिटी स्टेडियममा विश्वकप २०२६ को उद्घाटन भएको हो। उद्घाटनमा मेक्सिको सिटी स्टेडियम उत्सवमा झुम्यो। उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए।

त्यसपछि सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल भएको थियो ।  गए राती एस्टेका रङ्गशालामा   भएको खेलमा मेक्सिकोले ९ खेलाडीमा समेटिएको दक्षिण अफ्रिकालाई २-० गोल अन्तरले पराजित गर्दै सुखद सुरुआत गरेको हो ।

समूह ‘ए’ मा रहेको मेक्सिकोको जितमा जुलियन क्विनोनेस र अनुभवी स्ट्राइकर राउल जिमेनेजले १–१ गोल गरे । ८० हजार ८ सय २४ दर्शकले भरिएको रङ्गशालामा दक्षिण अफ्रिकाले घरेलु टोलीको दबाब झेल्न सकेन र खेलको दुवै हाफमा आफ्ना महत्त्वपूर्ण खेलाडी गुमाउन पुग्यो ।

खेल सुरु हुनुअघि रङ्गशालामा गरिएको आतिशबाजीको धुवाँ हट्न नपाउँदै मेक्सिकोले खेलको नवौँ मिनेटमा अग्रता लिएको थियो ।

दक्षिण अफ्रिकाका डिफेन्डर स्पेफेलो सिथोलेले आफ्नै हाफमा बल नियन्त्रणमा राख्न नसक्दा क्विनोनेसले उत्कृष्ट गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाएका थिए । उनले दक्षिण अफ्रिकाका गोलकिपर तथा कप्तान रोनवेन विलियम्सको खुट्टाको मुनिबाट बललाई जाली चुमाएका थिए । तीनवटा फरक विश्वकपका खेलहरू आयोजना गर्ने एक मात्र रङ्गशालाको कीर्तिमान बनाएको एस्टेकामा मेक्सिकोको गोलसँगै घरेलु समर्थकले भव्य उत्सव मनाएका थिए ।

पहिलो गोलमा गल्ती गरेका दक्षिण अफ्रिकाका सिथोलेका लागि खेलको ४९ औँ मिनेट झनै बिर्सनलायक बन्यो । मेक्सिकोका ब्रायन गुटिएरेज गोल गर्ने दिशामा अघि बढिरहेका बेला लडाएपछि सिथोलेले सिधै रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

१० खेलाडीमा समेटिएको दक्षिण अफ्रिकाविरुद्ध मेक्सिकोले खेलको ६७ औँ मिनेटमा दोस्रो गोल गर्‍यो । एक उत्कृष्ट काउन्टर अट्याकमा रोबर्टो अल्भाराडोको क्रसलाई उल्भरह्याम्पटन वन्डरर्सका फरवार्ड जिमेनेजले पोस्टको नजिकैबाट प्रहार गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ८४ औँ मिनेटमा भिडियो भीएआरको सहायताले दक्षिण अफ्रिकाका थेम्बा ज्वानले अल्भाराडोको अनुहारमा हातले प्रहार गरेको देखिएपछि उनलाई पनि रातो कार्ड दिइएको थियो । जसका कारण दक्षिण अफ्रिका ९ खेलाडीमा सीमित हुन पुग्यो ।

खेलको अन्तिम समयमा मेक्सिकोका डिफेन्डर सेसर मोन्टेसले पनि खुलिसो मुदाउमाथि खराब ट्याकल गरेपछि रातो कार्ड पाएका थिए । खेलमा कुल तीनवटा रातो कार्ड प्रयोग भएको थियो । यो जितसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण ३ अङ्क जोडेको छ ।

यसैगरी, फिफा विश्वकप २०२६ अन्तर्गत आज सम्पन्न समूह ‘ए’ को निकै प्रतिस्पर्धात्मक खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई २–१ गोलले पराजित गरेको छ। मेक्सिकोको ग्वाडालाजारा रंगशालामा भएको यस खेलमा दक्षिण कोरियाले उत्कृष्ट पुनरागमन गर्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो। खेलको ५८औँ मिनेटमा चेक रिपब्लिकका लादिस्लाभ क्रेज्सीले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर, पछि परेको स्थितिबाट सम्हालिँदै दक्षिण कोरियाले खेलमा फर्किने प्रयास जारी राख्यो। ६६औँ मिनेटमा हवाङ इन–बमले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ७९औँ मिनेटमा ओ ह्युन–ग्युले गोल गर्दै दक्षिण कोरियालाई २–१ को अग्रता दिलाए, जुन खेलको निर्णायक गोल साबित भयो।

प्रतिक्रियाहरु

[anycomment]