पर्यटक आगमन १२.१ प्रतिशतले वृद्धि

२०८३ आश्विन १५ गते, बिहीबार


काठमाडौँ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा विदेशी पर्यटक आगमनमा सुधार देखिएको छ । सन् २०२६ को सेप्टेम्बरमा कुल ८८ हजार २४८ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन््, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.१ प्रतिशत बढी हो । सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ जना विदेशी पर्यटक नेपाल आएका थिए ।
यसपालि पनि नेपाल आउने विदेशी पर्यटकमा सबैभन्दा ठूलो हिस्सा दक्षिण एसियाली मुलुकहरूको रहेको छ । सार्क क्षेत्रबाट मात्रै ३० हजार ८५ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको ३४.०९ प्रतिशत हो यो संख्या अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशत बढी हो ।
देशगत रूपमा हेर्दा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । सेप्टेम्बरमा भारतबाट १७ हजार ४२५ जना पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको १९.७५ प्रतिशत हो । अघिल्लो वर्षको तुलनामा भारतीय पर्यटक आगमन १२ प्रतिशतले बढेको छ । दोस्रो ठूलो स्रोत बजार चीन बनेको छ । चीनबाट ११ हजार २१२ जना पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको १२.७१ प्रतिशत हो। चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ११४.१ प्रतिशतले बढेको छ। यो प्रमुख स्रोत बजारमध्ये सबैभन्दा तीव्र वृद्धि हो ।
त्यस्तै, अमेरिकाबाट ८ हजार २९९ जना पर्यटक नेपाल आएका छन्। कुल आगमनमा अमेरिकाको हिस्सा ९.४० प्रतिशत छ । यद्यपि अमेरिकी पर्यटक आगमन अघिल्लो वर्षको तुलनामा १४.३ प्रतिशतले घटेको छ । श्रीलंकाबाट ७ हजार १०८ जना पर्यटक आएका छन्। यो अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशत वृद्धि हो । बंगलादेशबाट ३ हजार ९६४ जना पर्यटक आएका छन्, जुन ३१.५ प्रतिशत बढी हो ।
युरोपेली बजारबाट भने पर्यटक आगमन कमजोर देखिएको छ। युरोपबाट सेप्टेम्बरमा कुल १५ हजार १४८ जना पर्यटक नेपाल आएका छन्। यो अघिल्लो वर्षको तुलनामा ८.७ प्रतिशत कम हो ।
युरोपेली मुलुकमध्ये बेलायतबाट सबैभन्दा धेरै ३ हजार ७२५ जना पर्यटक आएका छन्। तर बेलायतबाट आउने पर्यटक संख्या अघिल्लो वर्षको तुलनामा २५.२ प्रतिशत घटेको छ । जर्मनीबाट १ हजार ९७४ पर्यटक आएका छन्, जुन ११.५ प्रतिशत कमी हो । अर्कोतर्फ रूसबाट आउने पर्यटक १८.४ प्रतिशत बढेर १ हजार १४३ पुगेका छन्। इटालीबाट आउने पर्यटक पनि २०.४ प्रतिशतले बढेर ९१० पुगेका छन् ।
ओसिनिया क्षेत्रबाट कुल ५ हजार ४२२ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा २५.९ प्रतिशत कम हो। अष्ट्रेलियाबाट मात्रै ४ हजार ८४२ जना पर्यटक आएका छन्, तर यो संख्या अघिल्लो वर्षको तुलनामा २९ प्रतिशतले घटेको छ ।
अमेरिका महादेशबाट कुल १० हजार १०७ जना पर्यटक आएका छन्। यो अघिल्लो वर्षको तुलनामा १२.३ प्रतिशत कम हो । क्यानडाबाट १ हजार २२४ जना आएका छन्, जुन १५.५ प्रतिशत गिरावट हो । ब्राजिल र मेक्सिकोबाट आउने पर्यटक भने क्रमशः ४८.६ प्रतिशत र ४७ प्रतिशतले बढेका छन् ।
मध्यपूर्वबाट २ हजार ६०६ जना पर्यटक नेपाल आएका छन् । यो अघिल्लो वर्षको तुलनामा ११.९ प्रतिशत वृद्धि हो । इजरायलबाट मात्रै १ हजार ९५७ पर्यटक नेपाल आएका छन् । संयुक्त अरब इमिरेट्सबाट आउने पर्यटक संख्या ९२ प्रतिशतले बढेको छ ।
अफ्रिकी मुलुकबाट कुल ४२४ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.३ प्रतिशत वृद्धि हो ।
तथ्यांकले समग्र पर्यटक आगमन सकारात्मक देखाए पनि क्षेत्रगत चित्र भने मिश्रित देखाएको छ । दक्षिण एसिया, चीन र मध्यपूर्वबाट पर्यटक आगमन बढ्दा युरोप, अमेरिका र ओसिनियाबाट आउने पर्यटक घटेका छन् ।
विशेषगरी चीनबाट पर्यटक आगमन दोब्बरभन्दा बढी बढ्नु नेपालको पर्यटन बजारका लागि महत्वपूर्ण संकेत देखिएको छ । अर्कोतर्फ अमेरिका, बेलायत र अष्ट्रेलियाजस्ता उच्च खर्च गर्ने परम्परागत स्रोत बजारबाट पर्यटक घट्नु भने पर्यटन क्षेत्रका लागि ध्यान दिनुपर्ने विषय बनेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु