एनपीएलको मिनी अक्सन हुँदै

काठमाडौँ । आज नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको मिनी अक्सन हुँदैछ। एनपीएलका खेलाडी लिन चितवन राइनोज, विराटनगर किंग्स, लुम्बिनी लायन्स, काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच तीव्र प्रतिस्पर्धा हुने बताइएको छ।
आज चितवनले ५८ लाख, विराटनगरले ४५ लाख ५० हजार, लुम्बिनीले ४५ लाख २० हजार, काठमान्डुले ४३ लाख र सुदूरपश्चिमले ४१ लाख ५० हजार खर्च गर्न पाउने छ।
मिनी अक्सनमा अर्जुन साउद, दिलीप नाथ, देव खनाल, पवन सर्राफ, शरद भेषावकर, मोहम्मद आदिल आलम, सूर्य तामाङ र सुनाम गौतम ‘ए’ श्रेणीमा रहेका छन्। उनीहरूको भाउ न्युनतम १० लाख रुपैयाँ रहेको छ भने अधिकतम १५ लाख हुनेछ।
तीन वर्षअघि नेपाल ट्वान्टी–२० लिगमा स्पट फिक्सिङका आरोप लागेका आदिललाई क्यानले अघिल्लो महिनामात्र राष्ट्रिय प्रतियोगिता खेल्न स्वीकृति दिएको थियो। भेट्रान शरदलाई चितवन, अर्जुन र सूर्यलाई लुम्बिनी, दिलीप र सुनामलाई पोखरा तथा देव खनाललाई कर्णालीले रिलिज गरेको थियो।
‘बी’ श्रेणीको भाउ ५ लाख रुपैयाँ रहेको छ र अधिकतम १० लाखमा गएर टुंगिने छ। ‘बी’ श्रेणीमा रहेका ३५ खेलाडी छन्।
त्यस्तै ‘सी’ श्रेणीमा १ सयभन्दा बढी खेलाडी छन्। नेपाली यू–१९ क्रिकेट टोलीका उपकप्तान अभिषेक तिवारीलगायत अरनिको यादव, दीपक डुम्रे छन्।
गत वर्ष भएको पहिलो सिजनको अक्सनमा एउटा टोलीले मार्कीबाहेक कम्तीमा ६५ लाख र बढीमा ९० लाख रुपैयाँ खर्च गर्न पाउने प्रावधान थियो।