पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी

२०७९ पुष १६ गते, शनिबार


काठमाडौं । नागरिक उड्ययन प्राधिकरणले भोलि अंग्रेजी नयाँ वर्ष १ जनवरीदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको तयारी गरेको छ । कार्यक्रम उद्घाटनका लागि पोखरा महानगरले विभिन्न झाँकीसहितको प्रदर्शन गर्दैछ भने पोखरा विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई नागरिक अभिनन्दन गर्दैछ । अमरसिंह चोकदेखि विमानस्थलसम्म झाँकी र्याली आयोजना हुनेछ ।
अहिलेसम्म प्राधिकरणले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट उद्घाटनकै दिन अन्तराष्ट्रिय उडान हुने बताउँदै आएपनि अन्ततः उडान नहुने भएको छ । बरु अन्तराष्ट्रिय उडान गर्दै आएको नेपालकै हिमालयन एयरलाइन्सले काठमाडौंबाट एयरबस ३२० पोखरामा अवतरण गर्ने कार्यक्रम छ । तर पोखराबाट अन्तराष्ट्रिय उडानको टुंगो लागेको छैन ।
‘हामीले राम्रो खेलौना बनाएर बजारमा बेच्न राखेका छौं । त्यो खेलौना कुन दिन बिक्रि हुन्छ थाहा छैन,’ प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले भने, ‘यो एयरपोर्टबाट नेपालकै समृद्धी प्राप्त हुन्छ भन्ने विश्वास छ ।’ एयरपोर्टबाट वार्षिक ५० करोड भन्दा बढी आम्दानी हुने उनले बताए । ‘पूरानो एयरपोर्टले नेट २५ करोड वार्षिक आम्दानी गरेको छ । यो एयरपोर्टबाट ५० करोड आम्दानी हुने अनुमान छ,’ उनले भने, ‘अझै पर्यटक बढे १ अर्बसम्म हुन सक्छ ।’
उद्घाटनका बेला अन्तराष्ट्रिय उडान नहुने भएपछि पोखरेलीहरु निराश भएका छन् । मेयर धनराज आचार्य भने विमानस्थल उद्घाटन नै उत्सव भएको बताउँछन् । ‘पोखराको लागि यो उत्सव हो । हामीले सार्वजनिक विदा नै दिएर उद्घाटनमा नागरिक र कर्मचारीलाई सहभागी गराउँदै छौं,’ उनले भने, ‘विमानस्थल चल्न थालेपछि पोखरा विकासको ढोका खुल्छ । ५० वर्ष पूरानो पोखराको सपना अहिले पूरा हुनु खुशीको कुरा हो ।’
२०३२ सालमा तत्कालीन अन्चलाधिश शंकरराज पाठकले नै अन्तराष्ट्रिय विमानस्थलको परिकल्पना गरेर जग्गा अधिग्रहण सुरु गरेका थिए । तत्कालीन समयमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ६ सय २९ रोपनी अधिग्रहण भयो । पटक पटक गरेर ४ हजार रोपनी जग्गा अधिग्रहण गरी २२ अर्व लगानीमा विमानस्थल निर्माण गरिएको हो ।
विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २ प्रतिशत ब्याजदरमा ऋण दिएको छ । एक्जिम बैंकले दिएको रकम मध्ये २५ प्रतिशत अनुदान हो भने ७५ प्रतिशतमा २ प्रतिशत ब्याज लाग्ने छ । २ हजार ५ सय मिटर रनवे भएको पोखरा विमानस्थलमा एयरवस ३२० उडान र अवतरण हुन सक्छ । यहाँबाट नजिकका गन्तब्यहरुमा उडान भर्ने योजना प्राधिकरणको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कैलाश मानसरोवर यात्रा प्रभावित

२०८३ आश्विन १६ गते, शुक्रबार

पर्यटक आगमन १२.१ प्रतिशतले वृद्धि

२०८३ आश्विन १५ गते, बिहीबार

६४८ आरोहीलाई हिमाल आरोहणको अनुमति

२०८३ आश्विन १४ गते, बुधबार

पर्यटनः चुनौती, अवसर र दिगो यात्रा

२०८३ आश्विन १२ गते, सोमबार