लघुवित्तमा एउटै व्यक्तिद्धारा १० वटासम्म खाता खोलेर ऋण !

२०८० कार्तिक २२ गते, बुधबार


काठमाडौँ । लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या र समाधान गर्न बनेको अध्ययन समितिले लघुवित्तमा एउटै व्यक्तिद्धारा १० वटासम्म खाता खोलेर ऋण लिएको तथ्य उजागर गरेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ संयोजकत्वको समितिले प्रतिवेदनमार्फत उक्त तथ्यको उजागर गरेको हाे । प्रतिवेदनमा लघुवित्तमा देखिएका समस्या, समस्या आउनुका कारण, लघुवित्तको लापर्बाही र समाधानका अल्पकालीन तथा दीर्घकालीन सुझाव समावेश छन् । अध्ययनले एउटै व्यक्तिले १० वटाभन्दा धेरै खाता खोलेर लघुवित्तबाट ऋण लिएको देखाएको छ । प्रतिवेदनअनुसार लघुवित्तमा २३ लाख १ हजार २ सय ९३ जना ऋणीका ३५ लाख ३३ हजार ३ सय २५ वटा खाता रहेका छन् । कुल ऋणीमध्ये ७० दशमलव ४ प्रतिशतले एउटा मात्रै खाताबाट, २ दशमलव ८ प्रतिशतले २ देखि ५ वटा खाताबाट, १ दशमलव ५ प्रतिशतले ६ देखि १० वटा खाताबाट र शून्य दशमलव २ प्रतिशतले १० वटाभन्दा बढी खाताबाट कर्जा लगेका छन् ।
प्रतिवेदनका अनुसार कर्जाको आकार बढ्दै जाँदा ऋणीको कर्जा खाता सङ्ख्या पनि बढ्दै गएको छ । कर्जाको आकारका आधारमा हेर्दा २९ दशमलव ५ प्रतिशतले ५० हजार रुपैयाँभन्दा कम कर्जा लगेका छन् भने १५ लाख रुपैयाँभन्दा बढी कर्जा लिनेको औसतमा १० वटा खाता रहेको छ । प्रतिवेदनका अनुसार एक ऋणीले अधिकतम २३ वटा संस्थाबाट कर्जा लगेका छन् भने एक ऋणीलाई १७ वटा संस्थाबाट २२ कर्जा खातामार्फत अधिकतम ५२ लाख १७ हजार रुपैयाँसम्म कर्जा प्रवाह भएको छ । कुल ऋणीमध्ये २ वटा संस्थाबाट मात्र कर्जा लिने ऋणी ११ दशमलव ७ प्रतिशत र १० वटाभन्दा बढी लघुवित्तबाट ऋण लिने ० दशमलव १ प्रतिशत रहेका छन् ।
अध्ययनले लघुवित्त वित्तीय संस्थाको लक्ष्यमा विचलन, कमजोर आन्तरिक प्रणाली र संस्थागत सुशासन, बहुबैंकिङसँगै ग्राहकमा ऋणग्रस्त, ग्राहक संरक्षणमा समस्या, सुगम क्षेत्रमा केन्द्रीकरण, लघुवित्तको मोडल समयसापेक्ष नभएको जस्ता गम्भीर मुद्दाहरू लघुवित्त क्षेत्रमा देखिएको जनाएको छ । ऋण नतिर्ने अभियान र यसको राजनीतिकरणले समस्यालाई थप बल्झाएको पनि उल्लेख छ ।
लघुवित्त वित्तीय संस्थाहरूको वर्तमान समस्या र समाधानका उपायहरूको अध्ययन गर्न नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले अध्ययन समिति बनाएको हो । २०७९ चैतमा रहेका ६३ वटा संस्थामध्ये ४१ वटामा बैंक तथा वित्तीय संस्थाको स्वामित्व रहेको छ । यस्तै लघुवित्तका शाखा ५ हजार १ सय ६४ वटा, कर्मचारी २२ हजार ८ सय ४६ जना रहेका छन् । कर्जा लगानी ४ खर्ब ४१ खर्ब ४ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ५३.०१ अंकले बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

अमेरिकी डलरको मूल्य बढ्यो

२०८२ भाद्र ११ गते, बुधबार

सरकार १० अर्ब आन्तरिक ऋण उठाउँदै

२०८२ भाद्र ११ गते, बुधबार