२५७०औं बुद्ध जयन्ती मनाइँदै
काठमाडौँ । आज २५७०औं बुद्ध जयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्छ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याउनुभएको योगदानको स्मरण गरी बुद्ध जयन्ती मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’भन्ने जस्ता अनेकौं सन्देशका वाहक गौतम बुद्धको जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू र बौद्ध लगायतका ठाउँमा विविध कार्यक्रम आयोजना गरिएको छ । इसापूर्व ५६३ अर्थात आज भन्दा २५७० वर्षअघि रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र माता मायादेवीको कोखबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।
